धरान : नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत पिण्डेश्वर विद्यापीठ, धरान-१४ को ७० औँ वार्षिकोत्सव एक समारोहका बिच सम्पन्न भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यस अवसरमा नवनिर्मित व्यापारिक भवनको समेत उद्घाटन गरिएको थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल विशिष्ट अतिथि रहेका थिए भने नेपाल संस्कृत विश्वविद्यालयका कार्यकारी परिषद् सदस्य सहप्रा. डा. रमेश घिमिरे, धर्मशास्त्री विद्वान् कोषराज न्यौपाने, विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष गोविन्द तिम्सिना, पूर्व प्राचार्यहरू प्रा.डा. चन्द्रमणि नेपाल, प्राध्यापक नारायण प्रसाद कट्टेल विशेष अतिथिका रूपमा रहेका थिए ।

कार्यक्रमको सञ्चालन सहप्रा. गुरुप्रसाद कोइरालाले गरेका थिए । विद्यापीठबाट वर्षेनी गरिँदै आएको प्राध्यापक, कर्मचारीको सम्मान अन्तर्गत कामु लेखा अधिकृत पदम वली र उपप्रा. डेगराज पौडेल रहेका छन् । नजिकका क्याम्पसका प्रतिनिधिहरू स्थानीय चन्दादाता, समाजसेवी र स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहप्रा. डा. खेमराज खनालले स्वागत मन्तव्य राख्दै क्याम्पसका र प्राध्यापक कर्मचारीहरूका समस्याबारे बोलेका थिए ।

कार्यक्रममा पिण्डेश्वर विद्यापीठ प्राध्यापक सङ्घ एकाइले प्रकाशन गरेको अनुसन्धानमूलक जर्नल प्रज्ञाज्योतिको प्रमुख अतिथि लगायतका अतिथिहरूबाट लोकार्पण गरिएको थियो । विज्ञ समीक्षित यस जर्नलको समीक्षा महेन्द्र क्याम्पसका उपप्रा. दीपेन्द्र न्यौपानेले गरेका थिए ।

वैदिक मन्त्रसँगै उद्घाटन भएको कार्यक्रममा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए । नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारी सङ्घका केन्द्रीय उपाध्यक्ष भेषबहादुर निरौला, धर्मशास्त्रविद् कोषराज न्यौपाने, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका केन्द्रीय सचिव उपप्रा. डा. भवानीशंकर भट्टराई, विद्यापीठका पूर्व प्राचार्य प्रा.डा. चन्द्रमणि नेपाल, प्रा. नारायण प्रसाद कट्टेल, कार्यकारी सदस्य सहप्रा. रमेश घिमिरे, विशिष्ट अतिथि धरान उपमहानगरपालिका कार्यकारी प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल आदि महानुभावहरूद्वारा कार्यक्रमको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यापीठका शैक्षिक, प्रशासनिक आर्थिक पक्ष, यसका समस्या र समाधानका विषयहरू उठान गरिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले प्रमुख अतिथिको मन्तव्य राख्दै संस्कृत भाषाको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए । प्रविधि र संस्कृत भाषाको समायोजन गरी समय सापेक्ष शिक्षा दिनुपर्ने बताउँदै सदैव सकारात्मक सोच राखी विश्वविद्यालय र विद्यापीठको उन्नयनमा लाग्नुपर्ने बताए ।

समाजमा भएका पुराना संस्कृत भाषाका पाण्डुलिपिहरू खोजी गरी त्यसलाई प्रकाशन, अध्ययन गर्ने कार्यमा सबै लाग्नुपर्ने बताउँदै विश्वविद्यालयले वास्तु शास्त्र, (इन्जिनियरिङ) आयुर्वेद आदि क्षेत्रमा प्रगति गरेको र पिण्डेश्वर विद्यापीठमा पनि ज्योतिष विषयको आचार्य तहको पढाइ आगामी शैक्षिक सत्रदेखि हुने कुराको जानकारी पनि उनले दिए ।

Pindeshowr-2

प्रमुख अतिथिको मन्तव्यपछि सप्ताहव्यापी प्रतियोगितात्मक कार्यक्रमहरूमा विजयी हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि, सभाध्यक्ष लगायतका अतिथिहरूद्वारा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यापीठमा गत वर्षमा विभिन्न विषयमा प्रथम हुने विद्यार्थीहरूलाई विद्यापीठमा राखिएका विभिन्न अक्षयकोषबाट प्राप्त नगद पुरस्कारहरू पनि यस अवसरमा प्रदान गरिएको थियो । यस क्रममा पिण्डेश्वर श्री पुरस्कार लक्ष्मीनारायण अधिकारी र पुष्प न्यौपानेलाई प्रदान गरिएको थियो ।

आगामी दिनहरूमा सबैको साथ र सहयोगमा विद्यापीठको सर्वतोमुखी विकासमा लाग्ने प्रण गर्दै यसमा सबैको भूमिका जिम्मेवार बनोस् भन्ने आशयका साथ प्राचार्य उपप्रां काशीनाथ पौडेलले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यापीठका प्राचार्य उपप्राध्यापक काशीनाथ पौडेलले गरेका थिए ।

Pindeshowr-3