चतरा : सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित जब्दि र विष्ट टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको छ ।

वडा नं २ को कार्यालयले प्लान इन्टरनेशनल र सामुदायिक समाज उत्थान केन्द्र सुनसरीको सहयोगमा दुई वटा टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरेको हो ।

सोमवार जब्दि स्थित शिवालय चौकमा एक कार्यक्रम गरेर दुई वटै टोललाई सधैँ सफा राख्ने प्रतिबद्धता गराउँदै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगरले सफा र स्वच्छ क्षेत्र घोषणा गरेकी थिइन् ।

कार्यक्रममा वडा नं २ का वडा सदस्य लालबहादुर तामाङले स्वागत भाषण गर्दै व्यक्तिले आफ्नो शरीर, घर र टोललाई सधैँ सफा र स्वच्छ राख्नु पर्नेमा जोड दिएका थिए । उनले गएको कात्तिकमा परेको अविरल वर्षाले किसानहरूलाई पारेको समस्याको निकास र सहयोग गर्न नगरपालिकाको कार्यालयलेसंग माग समेत गरेका थिए ।

कार्यक्रममा तोरी वारी खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बर सिग्देल , सामुदायिक समाज उत्थान केन्द्र सुनसरीका संयोजक कुमारमणि निरौला , वडा नं ७ का वडाध्यक्ष वीरबहादुर लिम्बू लगायतले टोललाई सफा र स्वच्छ राख्न सबैले व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

पटक पटकको अनुगमनबाट टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएकाले यसरिनै वराहक्षेत्रका सबै टोललाई घोषणा गर्ने लक्ष्य लिएको बताए । उनले सफा र टोललाई सफा र स्वच्छ हुन सबै टोलबासी सचेत हुनु पर्ने बताइन् ।

हप्तामा १ दिन टोलवासीको उपस्थितिमा सडक, चौक सफा गर्ने गरिएको र टोललाई सफा र स्वच्छ क्षेत्र बनाउन समिति समेत गठन गरेर काम गरिएको प्लान इन्टरनेशनलकि सामाजिक परिचालिका रेखा धामिले बताइन् ।

वडा नं २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन वडा सचिव गोपाल शर्माले गरेका थिए । कार्यक्रममा सामाजिक परिचालिका सुनिता राईलाई वडाध्यक्ष भट्टराईले साइकल हस्तान्तरण गरेका थिए ।

safa-1