धरान : राष्ट्रिय गौरवको आयोजना रानी-इटहरी-धरान हुँदै चीनको सिमाना किमाथाङ्का जोड्ने ६ लेन सडक आयोजनाको मुख्य कार्यालयमा इटहरीका स्थानीयले तालाबन्दी गरेका छन् । आयोजनाले गुणस्तरीय काम भन्दा कसरी छिटो काम सक्ने गरी गुणस्तरहीन काम गरेको भन्दै इटहरीमा रहेको कार्यालयमा ताला गरेका हुन् ।

आयोजना अन्तर्गत पर्ने इटहरीको मुख्य चौकमा पानी निकासका लागि ठेकेदार कम्पनीले गत वैशाखमा ह्युमपाइप राखेर काम अघि बढाउन खोजेको थियो । तर स्थानीयले वर्षा याममा ह्युमपाइपबाट पर्याप्त पानी निकास नहुने भन्दै कल्भर्ट बनाउन माग राखेका थिए ।

विरोध गरेपछि ठेकेदार कम्पनी र आयोजनाले ह्युमपाइप निकालेर कल्भर्ट निर्माण गर्ने सहमति भएको थियो । तर आयोजनाले ८ महिना पछि कल्भर्ट बनाउनुको सट्टा ह्युमपाइप नै राखेर सडक कालोपत्रे गराउन लागेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले जब सम्म ह्युमपाइप झिकेर कल्भर्ट बन्दैन तब सम्म ताला नखोल्ने अडान लिएका छन् । इटहरी नागरिक समाजका अध्यक्ष राजु केसीले आयोजनाले दुख दिएकै कारण तालाबन्दी गर्नु परेको बताए । ८ महिना सम्म स्थानीयको आवाज नसुनेको बताउँदै आन्दोलनमा उत्रिएको केसीको भनाई छ । ह्युमपाइप राखेर निर्माण अघि बढाएको ठेकेदार कम्पनीलाई आयोजनाले रकम भुक्तान गर्नुले पनि आयोजना माथि थप प्रश्न उठेको उनको भनाई छ । ‘हामीले आफै आएर लाएका छैनौ वडा नम्बर ६ का जनप्रतिनिधि समेतको सहभागितामा ताला लगाएका छौँ ।’ उनले भने ।

त्यस्तै सडक सङ्घर्ष समितिका संयोजक ज्ञानेन्द्र दाहालले आयोजनाको लापरबाहीले इटहरीवासी वर्षेनी डुब्ने गरेको आरोप लगाए । मुख्य चौक आसपास सामान्य वर्षाले डुबानको सिकार बन्दै आएका स्थानीयलाई आयोजनाले समेत पेलेर निर्माण अघि बढाएको उनको भनाई छ ।

दाहालले ८ महिना सम्म आज हुन्छ, भोलि हुन्छ भन्दै ओठे आश्वासन आयोजनाले दिएको बताए । उनले विवादित स्थानमा भएको निर्माणको तत्काल रकम भुक्तान गर्नुले आयोजना र ठेकेदार कम्पनीको मिलेमतो रहेको समेत आरोप लगाए । हिजो सम्म हामी गर्दिन्छौँ भन्ने तर आज रातारात काम सक्न खोज्ने रु उनले भने ‘यसले के देखाउँछ भने ठेकेदार र आयोजनाको प्रस्ट मिलेमतो छ ।’ उनले तत्काल स्थानीयको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिए ।

त्यस्तै आयोजनाका लेखा शाखा प्रमुख गुरुभक्त श्रेष्ठले ह्युमपाइप बनाउने ठेकेदारले रकम भुक्तान गरिसकेकाले अब तत्काल नयाँ कल्भर्ट बन्नेमा शङ्का बढेको बताए । उनले भत्काएर नयाँ बनाउँदा लागत बढी उठ्ने र तोकेको बजेटले नपुग्ने भएकै कारण तत्काल बन्न नसक्ने उनको भनाई छ । उनले अब के गर्ने भन्नेबारे कार्यालयका इन्जिनियर र प्रमुखसँग बसेर छलफलको माध्यमबाट समस्या समाधान तर्फ लाग्नु पर्ने बताए ।

आयोजना कार्यालयले उक्त ह्युमपाइप झिकेर कल्भर्ट बनाउने स्थानमा विवादकै कारण कालोपत्रे गर्न सकेको छैन । लामो समयदेखिको विवाद टुङ्गाउन नसक्दा राष्ट्रिय गौरवको आयोजना स्थानीयको घेराबन्दीमा पर्दै आएको छ ।

करिब ११ अरब लागतमा निर्माणाधीन सडक खण्ड २०८० साल सम्म सम्पन्न गरिसक्नु पर्नेछ । विराटनगरको रानी देखि धरान सम्म ४२ किलोमिटर सडक मध्ये धरान र दुहबीमा विवादकै कारण ठेक्का लाग्न सकेको छैन । ठेक्का लागेका स्थानमा पनि समयमा काम सम्पन्न हुनेमा शङ्का बन्दै गएको छ । यस कारण आयोजनामाथि पटक पटक प्रश्न उठ्दै आएको छ ।