झापा : काठमाण्डौमा जारी देशको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गए राति सम्पन्न मतदानको अन्तिम मत परिणाम आएको छ ।

जसमा सभापति पदका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने बताइएको छ ।

जम्मा ४ हजार ६ सय ८१ मतदाता मध्ये देउवाले २२ सय ५८ मत प्राप्त गरे पनि प्रतिशतका आधारका कारण अब दोस्रो चरणको मतदान हुने भएको हो । काँग्रेसको विधान अनुसार सभापति बन्नका लागि कुल खसेको मतको ५० प्रतिशत मत कटाउनुपर्ने व्यवस्थाका कारण देउवाले मतदानमा पहिलो भए पनि विजयी हुनबाट उनलाई ८२ मत अपुग भएको हो ।

दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत पाएका छन् भने विमलचन्द्र निधिले २४९ मत पाएका छन् ।

सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् । अब देउवा र कोइराला बिच सभापति पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।