धरान : मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका–१६ हुलास चौकमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप–महानगरपालिका–४ का २२ वर्षीय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ ।

हिजो राती ६ बजे विराटनगर महानगरपालिका–१७ मटेरुवाचोकबाट सुनसरी धरान उप–महानगरपालिका–१४ का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरी हिजो साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी विराटनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुन्दरहरैचा नगरपालिका–५ बलियाबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाउँपालिका–६ का २१ वर्षीय सागर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरूको प्रहरीद्वारा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।