इटहरी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसनको नाममा दुई लाख सम्म लुट्ने गरेको आरोप लगाएका छन् ।

इटहरी-१७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले नेपालमा दश लाखको काम गर्नुपर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाख सम्म लुट्ने गरेको आरोप लगाएका हुन् ।

सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । कमिसनबारे चर्को आलोचना गरेका नेता नेपालले सबै काममा ढिलासुस्ती भएकै कारण कुनै विकासको योजनाले गति लिन नसकेको बताए ।

कामको जिम्मा पाएका ठेकेदारलाई एडभान्स पैसा दिने चलनले पनि काममा अवरोध हुने गरेको उनको भनाई थियो । उनले देश पुरै सेटिङले बिगारेको बताए । ‘मेहनत गरेर खाने भन्दा पनि लुटेर खाने बढो प्रवृत्ति छ ।

विदेश जान्छन्, पैसा कमाउँछन्, नेपाल पठाउँछन् । मिठो मसिनो खान्छन् नयाँ नयाँ किन्छन् । हामीले विदेशमा कमाएको रकम बचत गर्न सकेनौँ’ उनले भने ।

त्यस्तै फरक प्रसङ्गमा एमालेले संसद् अवरुद्ध गर्नुको कुनै अर्थ नरहेको बताए । सर्वोच्च अदालतको फैसला भन्दा केपी ओली माथि नरहेको बताउँदै कुनै वैधानिक आधार नरहेको बताए ।

उनले केपी ओली आफुँ सर्वस्व ठान्दै गएका कारण आफ्नै पार्टी भित्रबाट आलोचनाको सिकार हुँदै गएको बताए । ‘केपी ओलीले आफुँ भन्दा माथि कानुन छ, नीति नियम छ भन्ने सोच्नु पर्‍यो । पार्टी भित्रैबाट ओलीको आलोचना भइरहेको छ त्यसैले ओलीमा चेत आओस्’ नेता नेपालले भने ।