धरान : १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र विराटनगरको ५६ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्ययतामा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक विशेष कार्यक्रमका बिच ५६ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि.सी.ले व्यावसायिक प्रहरी उत्पादनको उदगम स्थल प्रहरी तालिम केन्द्रले ५६ औँ वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पूर्ण परिवारलाई शुभकामना दिए ।

कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरूको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम् भूमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी सङ्गठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात् मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा सङ्गठनको अपेक्षा अनुरूप प्रतिफल दिन सक्ने बताए ।

समयको परिवर्तन सँगसँगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरू भन्दा फरक तर सरल र सहज रूपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरू देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिए ।

उनले अनुशासन प्रहरी सङ्गठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरूको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलिको दिनमा प्रहरीहरूको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामूहिक कार्यले सबै जना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमुना तालिम केन्द्रको रूपमा स्थापित गर्ने गरी उच्च व्यावसायिकताका साथ काम गर्न निर्देशन दिए ।

यसै गरी प्रहरी नायव महानिरीक्षक बि.सी.ले वार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटबल, भलिबल, टेवलटेनिस र ब्याडमिन्टन खेलका विजय हुने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरे । तालिम केन्द्रमा वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गरे ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र धमलाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयानुकूल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने व्यावसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरू समेत गरी कुल ७८ हजार ४ सय १२ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरिसकेको जानकारी गराए ।

कार्यक्रममा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले उपस्थित सबैमा धन्यवाद दिँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्षम, व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र विकल्प रहेकोले प्रशिक्षण पद्धतिलाई आधुनिक, व्यवस्थित तथा उपलब्धिमूलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताइन् ।

वार्षिक उत्सव कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती सङ्घकी अध्यक्ष चारु कोइराला बि.सी. तथा पदाधिकारीहरू, र प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।