झापा : झापाको बाह्रदशी गाउँपालिका -४ का कृषकलाई ५० लाख बरावरको सिचाई सामाग्री वितरण गरिएको छ ।

केही वर्ष अघिसम्म सिँचाइको अभावका कारण खेतीयोग्य जमिन हिउँदको समयमा बाँझै रहने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष समिम मियाले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै सिँचाइका लागि मोटर, बोरिङ कृषकलाई अनुदानमा उपलब्ध गराउन थालेसँगै सिँचाइको समस्या अव हल भएको छ ।

अहिले बाह्रदशी-४ का कृषकका लागि १२० वटा विभिन्न ठाउँमा ४ इन्चको बोरिङ गाडिएको छ भने २५० थान मोटर वितरण गरिएको छ । १५० वटा स्प्रे ट्याङ्की वितरण गरिएको छ । कृषकका लागि २० थान थ्रेसर मेसिन समेत वितरण गरिएको वडाध्यक्ष मियाले बताए । केही सामग्री सत प्रतिशत अनुदानमा रहेका छन् भने केही केही सामग्री कृषकको समेत सहभागितामा वितरण गरिएको छ ।

कृषकका लागि ३० लाख रुपैयाँ बराबरको सिँचाइका विभिन्न सामग्री वितरण गरिएको छ भने २० लाख रुपैयाँ भन्दा बढी सामग्री खरिदमा कृषकको समेत सहभागितामा रहेको छ । आज मात्रै वडा कार्यालयले ३८ थान २÷३ हर्ज पावरको मोटर वितरण गरेको छ भने १२ थान बोरिङ वितरण गरेको छ ।

सबै कृषकलाई सहज रूपमा सिँञ्चाइको पहुँच पुर्‍याउन वडा कार्यालयले बोरिङ सत प्रतिशत अनुदानमा प्रदान गरेको छ । मोटर ५० प्रतिशत अनुदानमा कृषकका लागि वितरण गरिएको वडाध्यक्ष मियाले बताए । पहिलो वर्षदेखि नै कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट बनाएको र कृषकको जीवनस्तर माथि उठाउन पहल गरेको वडाध्यक्ष मियाको भनाई छ ।

बाह्रदशी गाउँपालिका तरकारी खेतीका लागि झापा जिल्लामै परिचित छ । त्यसमा पनि बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अधिकांश कृषक तरकारी खेतीमा निर्भर छन् । तर, सिँचाइको समस्याले केही वर्ष अघिसम्म यहाँका कृषक समस्यामा थिए । तर, वडा कार्यालयले अहिले प्राय सबै कृषकलाई सहज हुने गरी मोटर र बोरिङको व्यवस्थापन गरेपछि यहाँका कृषक हर्षित भएका छन् ।

Sichai-1