चतरा : चतरामा जारी प्रथम बराह च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा पटनाली फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

ग्रिन कल्चरल क्लब चक्रघट्टिलाई ट्राईब्रेकरमा १ का विरुद्ध ४ गोलले हराउँदै पटनाली सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्थानीय बाइसबिघे खेल मैदानमा जारी अत्यन्त रोचक एवम् प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भए पछि खेलको नतिजा ट्राईब्रेकरबाट लिएको थियो ।

पहिलो हाफको ८ औँ मिनेटमा ग्रिन कल्चरलले खेलमा अग्रता लिएको थियो । ग्रिन कल्चरलका लागि जर्सी नं ६ का उमेश कार्कीले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको पटनालीले दोस्रो हाफको २३ औ मिनेटमा गोल गरेको थियो ।

पटनालीका लागि जर्सी नं ८ का साहिल राईले बराबरी गोल गरेका थिए । त्यसपछि निर्धारित र अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेलको नतिजा ट्राईब्रेकरबाट लिएको हो ।

ट्राईब्रेकरमा २ पेनाल्टी सुटलाई विफल बनाएका पटनालीका गोलरक्षक सुमन निरौला म्यान अफ द म्याच घोषित भए । उनलाई ग्रिन कल्चर क्लबका उपाध्यक्ष दिनेश राईले नगद २ हजार र ट्रफी प्रदान गरे ।

बुधवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आयोजक हाटखोला फुटबल क्लब रातो र सप्तकोसी फुटबल क्लब देबिघाटका बिच र मङ्गलवार विजयी बनेको पटनालीले बिहीबार अन्तिम सेमिफाइनल खेल एभरेस्ट फुटबल क्लब सँग भिड्ने आयोजक क्लब हाटखोला फुटवल क्लबका सचिव रोहित साहले बताए ।

Man-Of-The-Mach