काठमाडौँ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापतिमा निर्वाचित भएका छन् ।

मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेको थिएन । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए ।

सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो । देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२, प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबिच दोस्रो चरणको निर्वाचन भएको थियो ।

यसैबिच नेपाली काँग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यको मत गणना आजै सुरु हुने भएको छ ।

१४औँ महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गरेसँगै निर्वाचन आयोगका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थालनी गरिने बताए ।

अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । मत गणना सानेपामै गर्ने तयारी छ । अब पहिले महामन्त्री लगायत पदाधिकारीको गणना हुने उनले बताए ।

लगातार गणना गरी एक साताभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी आयोगले गरेको छ ।