धरान : विराटनगरमा आज बसेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुङ्गो लगाउन अझै सकेन ।

अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफूहरू 'ब्याक' हटेको बताएका थिए ।

तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ ।

केन्द्रीय सदस्यहरू त्रयले बैठकको सुरुवातमै आफूहरूबिच नेतृत्वमा दाबी नगर्ने र प्रदेश सदस्यहरूकै बिचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने सहमति गरेको बताएका थिए । उक्त प्रस्तावमा सबै सदस्यहरूले समर्थन गर्दै ताली बजाएका थिए ।

पदाधिकारीहरूको नाम समेत प्रस्ताव हुनसक्ने आँकलन गरिरहेका बेला बैठकका सञ्चालक तथा प्रदेशका सह-इन्चार्ज सावित्री कुमार काफ्लेले कार्यदल प्रस्ताव गरेपछि केही बेर हल्लीखल्ली मच्चिएको थियो ।

काफ्लेले हल्लाकै बिच नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सह-इन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेको छ ।

उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा प्रस्ताव पेस गर्ने जिम्मा पाएको छ । उक्त प्रस्ताव माथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीको तयारी छ ।

प्रदेश समितिको पहिलो बैठक विराटनगरका पुराना माओवादी नेता टङ्क गिरी (महेश)को अध्यक्षतामा सञ्चालन भएको थियो । आजको बैठकले कमिटीको पूर्णता दिने, अधिवेशनमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिने, समसामयिक प्रस्ताव पारित गर्ने, बाँकी रहेका पालिका अधिवेशनलाई पूर्णता दिने लगायतका विषयमा निर्णय गरेको छ ।

Maobadi-2