झापा : झापाको दमकमा गए राति धारिलो हतियार प्रहार गरी एक युवाको हत्या भएको छ।

दमक नगरपालिका वडा नम्बर ६ मा रहेको घिमिरे मार्केटमा गए राति करिब ७ बजेतिर अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट दमक-२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल लगिएकोमा तत्कालै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना के कारणले कसले घटाएको हो भन्ने विषयमा अहिले सम्म केही नखुलेको दमक प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाबारे गम्भीर रूपमा आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।