झापा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।

एक प्रेस वक्तव्य निकाल्दै प्रचण्डले दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेको आरोप लगाएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर ओलीले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेको प्रचण्डद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै प्रचण्डले केपी ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती समेत दिएका छन् ।

भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रूपमा खारेज गरेको प्रचण्डले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पुँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।” प्रचण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्ड अस्थिरताको पर्याय भएको र २०६० साल तिर तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको आरोप लगाएका थिए।

Prachanda-Bigyapti