इटहरी : इटहरी उपमहानगरपालिकाको गाउँ क्षेत्रमा पर्ने वडा नम्बर १६ को घोइन्दा खोलाको पुलको शिलान्यास भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले पुलको शिलान्यास गरेका हुन् । उनले पुलको अभावमा कष्टकर जीवन बिताइरहेका सो क्षेत्रका बासिन्दाका लागि यो पूल निर्माण हुनु खुसीको कुरा रहेकोमा जोड दिए ।

वर्षौँ देखि सुनसरी मोरङ सिचाई आयोजनाले पूल बनाउला भन्ने स्थानीयले अपेक्षा गरे पनि नबनाए पछि आवश्यकताको आधारमा उपमहानगरपालिकाले पूल निर्माण गर्न लागेको उनले बताए । वडा नम्बर १६ का वडा सदस्य तेज नारायण चौधरीले समयमै र गुणस्तरीय काम हुनुपर्ने बताए ।

जल उपभोक्ता संस्थाका भगीरथ चौधरी र स्थानीय सत्यनारायण चौधरीले पूल टिकाउ हुनुपर्ने बताए । सो पूल ९३ लाख ७९ हजार ७ सय ४२ रुपियाँको लागतमा निर्माण हुने इटहरी उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवटले जानकारी दिए । शिलान्यास कार्यक्रम वडा नम्बर १६ का अध्यक्ष दीप नारायण चौधरीको अध्यक्षतामा भएको हो ।