चतरा : चतरामा जारी प्रथम बराह च्यालेन्ज फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा जित निकाल्दै पटनाली फुटबल क्लब धरान फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय बाइसबिघे खेल मैदान जारी प्रतियोगितामा एभरेस्ट फुटबल क्लब नडाहालाई सुन्यका विरुद्ध २ गोलले हराउँदै पटनालीले फाइनलको यात्रा तय गरेको हो ।

सुरुवात देखिनै एभरेस्टलाई दबाबमा राखेको पटनालीले पहिलो हाफको ३ औ मिनेटमा अग्रता लिएको थियो । पटनालीका लागि पहिलो गोल जर्सी नं २० का तपन कार्कीले गरेका थिए । निरन्तर दबाबमा राखेको पटनालीले पुनः पहिलो हाफको १२ औँ मिनेटमा गोल गर्दै अग्रताका लागि दोबर बनाएको थियो ।

जर्सी नं १४ सुनिल राईले गोल गरेका थिए । पहिलो हाफमा २ गोलले पछि परेको एभरेस्टले दोस्रो हाफमा खेलमा फर्कने प्रयास र पटनालीले अग्रतालाई फराकिलो पार्न खोजे पनि त्यस पछि कुनै टिमबाट गोल हुन नसक्दा पटनालीले एभरेस्ट माथि २-० को सहज जित निकालेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका पटनालीका जर्सी नं १० दीपक गिरि म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक हाटखोला फुटबल क्लबका अध्यक्ष विकास सुनुवारले नगद २ हजार र ट्रफी प्रदान गरे ।

शनिवार उपाधिकालागि पटनालीले सप्तकोसी युवा क्लब देबिघाटसंग खेल्ने आयोजक क्लब हाटखोला फुटबल क्लबका सचिव रोहित साहले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार, दोस्रो हुने टिमले नगद ३१ हजार प्राप्त गर्नेछ ।

Man-of-The-mach 2