धरान : इटहरीमा भिनाजुलाई छुरा प्रहार गरेर हत्या गर्ने अर्जुन राईलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

भोजपुरको हतुवागढी ४ घर भई हाल सुनसरी, इटहरी-४ मा दिदी भिनाजुसँग बस्दै आएका वर्ष १९ का अर्जुन राईले मंगलबार दिदी जसकुमारी राई सँग वादविवाद-झगडा गर्न लागेकोमा भिनाजु वर्ष ५० को श्रीमुरारी गिरीले सालोलाई झगडा नगर भनी सम्झाई बुझाई गरी छुट्टाउने क्रममा अर्जुन राईले आवेगमा आई भिनाजुलाई छातीमा सब्जी काट्ने स्टिलको छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छातीमा प्रहारबाट गम्भीर घाइते भएका गिरीलाई तत्काल स्थानीय अस्पताल एपेक्स हस्पिटल हुँदै विराटनगरको नोबेल अस्पतालमा लगी उपचार गराउने क्रममा मंगलबार साढे ५ बजेको समयमा मृत्यु भएको थियो ।

पक्राउ परेका अर्जुन राईलाई तत्काल घटनास्थलबाट पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिवादी अर्जुन राईको मानसिक अवस्था असन्तुलित रही उपचारकोलागि दिदी भिनाजुले ल्याएको बुझिन आएको प्रहरीले बताएको छ ।