धरान : सुनसरीमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक सप्ताह २०७८ हुने भएको छ ।

ट्राफिक सप्ताह आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ विराटनगर र १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीको आयोजनामा पुस ४ गते देखि १० गते सम्म सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानले जनाएको छ ।

सप्ताहमा धरान उपमहानगरपालिका २ भानुचोकमा बृहत् र्‍याली सहित उद्घाटन हुने र कार्यक्रममा सरकारी तथा गैह्र सरकारी विभिन्न संघ संस्थाहरु, यातायात ब्यवसायी, यातायात मजदुरहरू, विभिन्न विद्यालयका बिद्यार्थीहरु, धरानमा रहेका विभिन्न जातजातिय सांस्कृतिक झाकिहरु, टोल सुधार समिति लगायत अन्य सुरक्षा निकायहरू लगायतको उपस्थितिमा बृहत् प्रभात फेरी र्‍याली सहित ट्राफिक सप्ताह समुद्घाटन हुनेछ ।

ट्राफिक सप्ताह कार्यक्रम अवधिभर सुनसरी जिल्ला भरिनै सवारी चालक तथा सह–चालकलाई जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विभिन्न ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । चालकको स्वास्थ्य परीक्षण समेत गर्ने भएको छ ।

यसै गरी ट्राफिक सप्ताह अन्तर्गत सवारी साधनको मेकानिकल चेकजाँच समेत अनुभवी मेकानिकद्वारा सडकमै गर्ने र सवारी साधनमा आवश्यक पर्ने कागजात सवारीको अवस्था र सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनाएको छ ।

कार्यक्रममा विद्यालय सम्पर्क कार्यक्रम तथा सार्बजानिक स्थलहरूमा समेत सडक प्रयोगकर्ताहरू भेला जम्मा गरी ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम एवं जिल्ला भरका विभिन्न स्थानीय निकाय, सरोकारवालाहरू सँग समन्वय गरी ट्राफिक व्यवस्थापन कार्य एवं फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन लगायत दुर्घटना न्यूनीकरण सम्बन्धमा आवश्यक सहकार्य गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सम्पूर्ण सडक प्रयोगकर्ताको लागी विभिन्न मिडिया मार्फत संदेशहरु प्रवाह गर्नुका साथै माइकिङद्वारा समेत ट्राफिक सचेतना सम्बन्धी सन्देशहरू प्रवाह गरिने भएको छ ।

सुनसरी जिल्लामा रहेका सम्पूर्ण ट्राफिक प्रहरी युनिटहरूले ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत पर्ने सम्पूर्ण कार्यहरू स्थानीय स्तरबाट समेत गर्ने गरी कार्यक्रमको तयारी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक भुवन बाबु खड्काले जानकारी दिएका छन् ।