इनरुवा : नेकपा एकीकृत समाजवादी सुनसरीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी जिल्लामा रहेका विभिन्न क्षेत्रका समस्याका साथै प्राथमिकताका आधार गर्नुपर्ने विकास निमार्ण योजना बुझाएको छ।

नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाका अनुसार पार्टीको पदाधिकारी सहितको प्रतिनिधि मण्डलले मुख्यमन्त्री राईलाई भेट गरी सुनसरी जिल्लामा रहेका विभिन्न क्षेत्रका समस्याका बारेमा अवगत गराई विकासका योजनाहरू बुझाएको हो।

अध्यक्ष निरौलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री कार्यालय विराटनगरमा भेट गरी राईलाई सुनसरीको शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, सडक, पुल, किसानका समस्या, महिला स्वरोजगारका सवाल, शान्ति सुरक्षा लगायतका विषयमा जानकारी गराएको थियो ।

अध्यक्ष निरौलाले नेकपा एस सुनसरीले १२ वटा पालिका रहेको जिल्लामा प्राथमिकताका आधारमा पर्यटन, कृषि, उद्योग, भौतिक पूर्वाधार विकास, सिचाई, ढल निकास लगायतका योजना सञ्चालनमा स्थानीयस्तरमा समन्वय गरी काम गर्न सुझाव दिएको बताए।

मुख्यमन्त्री राईले गठबन्धन सरकार भएकाले नेपाली काँग्रेसको महाधिवेशन सकिए लगतै मन्त्रीमण्डल विस्तार पछि विकासका कामले गति लिने गरी योजना कार्यान्वयन हुने जनाउँदै सुनसरीका समस्याका बारेमा मन्त्रीपरिषद् बैठकमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।