धरान : धरानमा पाँच दिने चासोक तङनाम सांस्कृतिक उत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिले एक विज्ञप्ति जारी गरी आदिवासी लिम्बु याक्थुङहरुको महान् चाड चासोक तङनाम (चाड) २०७८ धरानमा भव्यताका साथ मनाउनका लागि तयारी पुरा भएको जनाएको हो ।

विगतका वर्षमा कोभिड १९ महामारीको कारण हुन नपाएको चासोक तङ्नाम यो वर्ष पाँच दिने सांस्कृतिक उत्सवका साथ मनाइने जनाइएको छ ।

आज पुस ३ गते साँझ लिम्बु जातिको धार्मिक अनुष्ठान एक राते तङसिङबाट सुरु हुने किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिका सचिव जय सम्वाहाम्फेले जानकारी दिएका छन् । पाँच दिने चासोक तङनामलाई भव्यताका साथ सम्पन्न गर्न १८ वटा विभिन्न उपसमितिहरू समेत गठन गरिएका छन् ।

पुस ४ गते बिहान विजयपुर स्थित हाङयुक्नामा लिम्बु याक्थुङ विधि अनुसार पूजा हुनेछ भने त्यही समयमा तीनकुने स्थित किरात विभूति एवम् सहिद श्रीजंगाको सालिकमा माल्यार्पण हुने छ । धरान-१५ स्थित चुम्लुङ हिममा पाकेको नयाँ अन्नबाली इष्ट देवतालाई चढाउने कार्यक्रम रहेको छ । पुस ४ गते दिउसो १ बजे चुम्लुङ हिममा धरान उपमहानगरपालिकाको प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा चासोक तङनाम २०७८ को औपचारिक उद्घाटन हुनेछ ।

यसै गरी पुस ५ गते दिउँसो के-लाङ (च्याब्रुङ नाच) प्रतियोगिता, पुस ६ गते आदिवासी जनजाति महासङ्घ अन्तर्गतका आदिवासी सङ्घ संस्थाहरूको सांस्कृतिक प्रदर्शनी एवम् तरेचा (पाहुना खाना) आयोजना हुनेछ भने साँझ स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक साँझ हुने छ ।

पुस ७ गते या?लाङ (धान नाच), पालाम आयोजना हुने छ । पुस ७ गते नै चासोक तङनाम २०७८ को समापन प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ । पुस ७ गते साँझसम्म या?लाङ आयोजना हुने जनाइएको छ ।

कोभिड सङ्क्रमणलाई ध्यानमा राखेर प्रत्येक स्टलमा सेनिटाईजरको व्यवस्था तथा मास्क प्रयोगलाई ध्यानमा राखिने छ । चासोक तङनाम २०७८ मा आफूलाई अनुकूल हुने समयमा सहभागी भई सफल बनाइदिन आयोजक किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिले विज्ञप्ति मार्फत आव्हान समेत गरेको छ ।

धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङ हिममा आयोजना हुने चासोक तङनाम उत्सवमा विभिन्न २२ वटा स्टलहरू पनि रहनेछन् । स्टलहरूमा आदिवासी जन्य सांस्कृतिक परिकारहरू र सांस्कृतिक स्टलहरू रहने पनि आयोजकले जनाएको छ ।

Bigyapti 2