धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले किराँत समुदायको महान् पर्व उँधौली, नेवार समुदायको पर्व योमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शनिवार एक सन्देश जारी गर्दै मेयर राईले प्रकृतिपुजक किराँत समुदायको महान् पर्व उँधौली (राई जातिको साकेला, लिम्बु जातिको चासोक तङ्नाम, सुनुवार जातिको स्याँदर, याक्खा जातिको चासुवा), संस्कार र संस्कृतिले सम्पन्न नेवार समुदायको पर्व योमरी पुन्हि र धान्य पूर्णिमाको शुभकामना व्यक्त गरेका हुन् ।

मेयर राईले धरान विभिन्न जातजाति, भाषा भाषी र धर्मावलम्वीहरुको बसोबास रहेको सुन्दर नगरी रहेको जनाउँदै मौलिक सांस्कृतिक चाड पर्वहरूले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबिच आपसी सद्भाव सुमधुर बनाउने बताएका छन् ।

किरात समुदायको महान् पर्व उँधौली, धान्य पूर्णिमा तथा नेवार समुदायको पर्व योमरी पुन्हिले सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न मेयर राईले आग्रह गरेका छन् ।

साथै, मेयर राईले अझै पनि कोरोना महामारीको सङ्क्रमणको जोखिमबाट मुक्त भई नसकेको शुभकामना सन्देशमार्फत जनाउनुभएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखा पर्न थालेको बताउँदै मेयर राईले स्वास्थ्य सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्दै पर्व मनाउन तर्फ सचेत र सजग रहन पनि आग्रह गरेका छन् ।

Bigyapti 3