झापा : जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएका घरेलु हिंसाको उजुरीका घटना हेर्दा सबैभन्दा बढी ५२ प्रतिशत घरेलु हिंसा पारिवारिक बेमेलका कारण हुने गरेको पाईएको छ।

यसैगरी ३२ प्रतिशत मादक पदार्थ सेवन र सामाजिक सञ्जाल तथा फोनको दुरुपयोगका कारण १६ प्रतिशत घरेलु हिंसाको उजुरी प्रहरी कार्यालयमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा रहेका १५ वटा पालिकामध्ये सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा २४ प्रतिशत र सबैभन्दा कम बाह्रदशी गाउँपालिकामा शून्य दशमलव ४८ प्रतिशत घरेलु हिंसाको घटनामा उजुरी दर्ता भएको देखिन्छ।

आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका यौनजन्य अपराधको विवरण हेर्दा त्यो वर्ष दर्ता भएका यौनजन्य अपराधको सङ्ख्या १ सय ५६ वटा रहेको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा घटेका यौनजन्य अपराधहरूको विश्लेषण हेर्दा पीडितको उमेरको आधारमा घटेका यौनजन्य अपराधका घटनामा ३८ प्रतिशत १८ वर्ष मुनि उमेर समूहका रहेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को अवधिमा घटेका यौनजन्य अपराध घटनाका पीडित ३८ प्रतिशत १८ वर्ष मुनि उमेर समूहका रहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

यस अवधिमा दर्ता भएका यौनजन्य अपराधका घटनाका ४३ प्रतिशत पीडक १८ देखि २५ वर्ष उमेर समूहका रहेका छन् । शैक्षिक योगयताका आधारमा तुलना गर्दा यौनजन्य अपराधमा पीडितमध्येका ७२ प्रतिशत महिला साधारण लेखपढ मात्र गर्न सक्ने र यौनजन्य अपराधमा संलग्न ३९ प्रतिशत पीडक साधारण लेखपढ गर्न समेत नजान्ने रहेको तथ्याङ्कमा छ ।

महिला तथा बालबालिका विरुद्धका अपराध, महिला हिंसाको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालय समेतमा दर्ता भएका घरेलु हिंसाको ५ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष झापामा महिला हिंसाका घटनामा बढोत्तरी हुँदै गएको छ । आर्थिक वर्ष २०७४/०७५ मा महिला हिंसाका ६९ वटा निवेदन परेका थिए । ती मध्ये ६० वटामा सहमति, ४ वटा अदालत पठाएको र बाकी ५ वटा फस्र्याेट हुन बाँकी रहेको थियो ।

यसै गरी, आर्थिक वर्ष २०७५/०७६ मा त्यो सङ्ख्या बढेर दोब्बर बढी पुग्यो । १ सय ५२ वटा घटना हुँदा १ सय २० वटामा मात्र सहमति भएको थियो । ८ वटालाई अदालत पठाइएको भए पनि २४ वटा मुद्दा फस्र्याेट हुन सकेका थिएनन् । आर्थिक वर्ष २०७६/०७७ मा महिला हिंसाका १ सय ८१ वटा उजुरी परे । १ सय ४३ वटा सहमति भएको, १३ वटा अदालत पठाएको र २५ वटा फस्र्याेट हुन बाँकी रहेको कार्यालयको भनाई छ ।

सवैभन्दा बढी आर्थिक वर्ष २०७७/०७८ मा २ सय २० वटा निवेदन परे पनि १ सय ७२ वटा मात्र सहमति भएको छ। १४ वटा अदालत पठाएको र ३४ वटा फस्र्याेट हुन बाँकी रहेको बताइएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को कात्तिक महिनासम्म ८३ वटा उजुरी दर्ता हुँदा ६९ वटामा सहमति भएको छ । २ वटा अदालत पठाइए पनि १२ वटा फस्र्याेट हुन बाँकी रहेको छ ।

यौनजन्य अपराधका सबैभन्दा धेरै घटनाहरूमा पीडकले पीडितलाई विभिन्न डर, धाक त्रास, धम्की दिई घटना घटाउने गरेको पाईएको छ। यस्तै पीडितलाई विभिन्न किसिमका प्रलोभन समेतमा पारी यौनजन्य अपराधका घटनाहरू घटेका छन् ।

लैङ्गिक हिंसा नियन्त्रणका प्रयासहरूमा कार्यालयले सचेतनामूलक कार्यक्रमहरू, नेपाल प्रहरीको सेप्टी पिन अभियान तथा कानुनको कार्यान्वयनमा कडाइ लगायतका कार्यक्रम सञ्चालन गरिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।