झापा : आज देखी प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह २०७८ सुरु भएको छ ।

साताव्यापी रूपमा आयोजना हुने उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने बताइएको छ ।

यसै अवसरमा सात बर्षीया ऋषिका भण्डारीलाई हेलमेट लगाएर झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले झापामा पनि ट्राफिक सप्ताहको उद्घाटन गरे । आज बिहान बिर्तामोडमा आयोजित उद्घाटन कार्यक्रममा प्रभातफेरिको समेत आयोजना गरिएको थियो ।

Traffic-Saptaha-7

साताव्यापी आयोजित उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख चापागाईँले बताए । कार्यक्रममा बोल्दै चापागाईँले दुर्घटना बढी जसो चालकको लापरबाहीका कारण हुने भए पनि सडक सुशासनसँग सम्बद्ध सबै पक्षले स्वामित्व ग्रहण गर्नु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका अध्यक्षता समेत गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले ट्राफिक नियमको पालना नहुँदा दुर्घटना हुने गरेको बताए । ट्राफिक सप्ताह कार्यक्रम प्रदेशभर साताव्यापी रूपमा जिल्लाका विभिन्न स्थानमा पुष १० गतेसम्म सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Traffic-Saptaha-5

यसै गरी धरानमा पनि आज बिहान भानुचौकबाट ट्राफिक सप्ताहको प्रभातफेरी गरी उद्घाटन गरिएको छ ।
धरानका विभिन्न विद्यालयका विद्यार्थी र विभिन्न सङ्घसंस्थाका पदाधिकारी र जातीय झाकि सहित ट्राफिक सप्ताह सुरु गरिएको हो ।

प्रदेश १ मा दुर्घटनाको ग्राफ बढ्दै
प्रदेश १ मा आर्थिक वर्ष २०७५/७६ मा ३१३, २०७६/७७ मा ३३२, २०७७/७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक प्रहरीको यो तथ्याङ्कलाई हेर्दा हरेक वर्ष सडक दुर्घटनामा परि अकालमै ज्यान गुमाउनेहरूको ग्राफ उच्च हुँदै गएको देखिन्छ ।

Traffic-Saptaha-6

यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताह अन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको बताइएको छ ।

दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गरेमा दुर्घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

Traffic-Saptaha-3 Traffic-Saptaha-8 Traffic-Saptaha-2