विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुनसरीको इनरुवा अस्पताललाई एक महिना भित्रमा व्यवस्थित गरिसक्ने बताएका छन् ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लामो समय देखि रिक्त रहेको र आवश्यक चिकित्सकको पनि अभाव भएकाले एक महिना भित्रमा व्यवस्थित गरिसक्ने उहाँले बताउनुभयो ।

आज इनरुवा अस्पतालमा मन्त्री यादव सहित आइपुगेको सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको अनुगमन तथा स्थानीय सरोकारवालासँग अन्तरक्रिया पनि गरेको छ ।

इनरुवा अस्पताल सुदृढीकरण सम्बन्धी गरिएको अन्तरक्रियामा अस्पताल प्रमुख प्रदेशले नियुक्त गरी जिम्मेवारी दिनुपर्ने, विशेषज्ञ डाक्टर तीनै तहको सरकारको समन्वयमा पूर्ति गरिनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाका लागि राजनैतिक प्रतिबद्धता हुनुपर्ने, स्वास्थ्य बिमा कार्यक्रम प्रदेश सरकार मार्फत सञ्चालन हुनुपर्ने लगायतका विषय मन्त्री यादव समक्ष प्रस्तुत गरिएको थियो ।

उनले अस्पतालको अनुगमनका क्रममा सम्पूर्ण विषय बस्तुको जानकारी आफूले लिएकाले चाडै व्यवस्थापनमा लाग्ने बताए । उनले इनरुवा अस्पतालको समस्याबारे आफूले जानकारी पाए लगत्तै स्थलगत निरीक्षणका लागि आएको बताए । उनले अस्पतालका कर्मचारी तथा स्थानीय सरोकारवालालाई अस्पताल भित्र राजनीति गर्नु नहुने बताए । उनले भने–अस्पताल सार्वजनिक सम्पत्ति हो, यहाँ राजनीति हुनुहुँदैन ।’

अस्पताल अनुगमनमा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँ लगायतको टोली रहेको मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।