धरान : किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिको आयोजनामा भइरहेको चासोक तङ्नाम सांस्कृतिक उत्सवमा लिम्बु जातिको मौलिक नृत्य केलाङ (च्याब्रुङ) प्रतियोगिता सम्पन्न भएको छ ।

पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सवको अवसरमा धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङ हिममा आयोजित सो प्रतियोगितामा १४ वटा (च्याब्रुङ) केलाङ समूहले भाग लिएका थिए ।

Kelang-2

सहभागी मध्ये सिन्दोलुङ नावा खेम्सीङ केलाङ समूह प्रथम, थङथङदेन केलाङ समूह दोस्रो र सेसेलुङ केलाङ समूह इटहरी तेस्रो भएका छन् । विजयी समूह प्रथमले नगद १२ हजार र ट्रफी, दोस्रोले नगद १० हजार र ट्रफी र तेस्रोले नगद ५ हजार र ट्रफी प्राप्त गरेका छन् । विजयीहरूलाई चुम्लुङका अगुवाहरूले पुरस्कार वितरण गरेका थिए ।

कोरोना महामारीको कारण गत वर्ष हुन नसकेको चासोक तङ्नाम यस पटक भव्यरुपमा भइरहेको छ । चासोक तङ्नाममा लिम्बु युवा युवतीहरू आफ्नो मौलिक परम्परागत पोसाकमा सजिएर उपस्थित हुने गरेका छन् ।

चासोक तङ्नामको आज भने आदिवासी जनजाति महासंघमा आबद्ध जातीय संस्थाहरूको सांस्कृतिक प्रदर्शनी रहने किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिका सचिव जय सम्वाहाम्फेले जानकारी दिएका छन् ।

भोलि चासोक तङ्नामको अन्तिम दिन प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेको प्रमुख आथिथ्यतामा सम्पन्न हुने र साँझ सांस्कृतिक कार्यक्रम रहने जनाइएको छ ।

Kelang-1