धरान : धरानमा बिहीबार र शुक्रवार १८ वर्ष उमेर समूह देखि माथिकालाई कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार पहिलो दिन वडानं. १ देखि १० सम्मकालाई आ आफ्नो वडाको खोप केन्द्रहरूबाट १८ वर्ष देखि माथिका उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन् ।

धरान-७ काले भने धरान १ को छाता चौकमा रहेको स्वास्थ्य चौकीबाट खोप लगाउन पाउनेछन् । धरान-७ मा खोप लगाउनेको सङ्ख्या कम भएकोले छाता चौकको स्वास्थ्य चौकीबाट खोप लगाउने बताइएको छ ।

यसै गरी दोस्रो दिन शुक्रवार ११ नम्बर वडा देखि २० नम्बर वडा सम्मका नागरिकलाई खोप लगाइने छ । सबै वडामा वडाले तोकेको खोप केन्द्रबाट खोप लगाइने छ ।

धरानमा यस भन्दा अघि ९ हजार जनालाई भेरोसेलको पहिलो मात्रा खोप लगाइसकेको छ । यस पटक धरान उपमहानगरपालिकामा ४८ हजार डोज खोप माग गरिएकोले खोपलाई स्टोर गर्न सकिने गरी आपुर्तिगरी नागरिकलाई खोप लगाउने तयारी रहेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

खोप अभियानका लागि धरान उपमहानगरपालिकामा एउटा खोप केन्द्र बराबर ४ जनाका दरले दैनिक ४० जना स्वास्थ्यका कर्मचारी परिचालन हुनेछन् ।

अहिले सम्म धरानमा कुल जनसङ्ख्याको आधारमा साढे ३३ प्रतिशतले कोरोना विरुद्धको पुर्णमात्रा खोप लगाइसकेका छन् ।