विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दु:खद भएको बताउँदै बर्षेनी यो सङ्ख्या बढ्दै जानु चिन्ताको विषय भएको बताए ।

सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालीन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका सम्बन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरूबिच आज देखि विराटनगरमा सुरु भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

उनले महिला हिंसाले महिला र पुरुष दुवैलाई इङ्गित गर्ने बताए । मन्त्री यादवले महिला हिंसाका घटना न्यूनीकरणका लागि गाउँगाउँमा सचेतना आवश्यक रहेकोमा जोड दिए । सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा प्रदेश १ का १५ स्थानीय तहमा सञ्चालित अल्पकालीन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवाका प्रभावकारीताका आधारमा अन्य स्थानीय तहहरूमा पनि कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले सामाजिक विकास मन्त्रालयले घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित भई भय तथा असुरक्षा महसुस गरी आफ्नो घरपरिवार तथा समाजमा रही जीवन यापन गर्न नसकी रहेका महिला तथा बालबालिकाहरूलाई लक्षित गरी दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएको बताइन् ।

उनले दुई वर्ष अघि देखि गृह सञ्चालनमा रहेको बताइन्। अहिले गृहमा १२ जना महिला तथा बालिकाहरू रहेको उनले बताइन् । उनले पुनर्स्थापना गृहबाट पुनर्मिलन तथा पुनर्स्थापना, बालिकाको संस्थागत स्याहार, बालिकाहरू शिक्षा लगायतका चुनौती रहेको बताइन् ।

कार्यक्रममा प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश सांसदहरू, सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्थानीय तहका उपप्रमुखहरू, संरक्षण गृहका संयोजक लगायतको सहभागिता रहेको थियो ।