धरान : प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले विभिन्न आदिवासी जनजातिहरूको मौलिक चाडपर्वहरूलाई सङ्घीय सरकारले राष्ट्रिय चाडको रुपमा मान्यता दिनुपर्ने बताएकी छिन् ।

उँधौली पर्वलाई प्रदेश सरकारले एक दिन बिदा दिने गरेको तर अझै यस्ता एउटा ठुलो समुदायले मनाउने मौलिक चाडहरू राष्ट्रिय चाड बन्न नसकिरहेकोले अव विभिन्न आदिवासी जनजातिहरूको मौलिक चाडपर्वहरूलाई राष्ट्रिय पर्वको रुपमा केन्द्र सरकारबाटै मान्यता दिनुपर्ने राज्यमन्त्री तुम्बाहाम्फेले बताइन् ।

Chasok-3 5

प्रदेश सरकारमा आफू पाँच दलीय गठबन्धनबाट सरकारमा सहभागी भएको बताउँदै उनले सानो दलले उठाएका सवालमा सम्बोधन नहुनु दु:खद भएको तर पनि आफ्नो मुद्दामा सधैँ आफू अडिग रहेको दाबी गरिन् ।

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिले धरानमा आयोजना गरेको पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सव २०७८ को समापन समारोहको सम्बोधन गर्दै राज्यमन्त्री तुम्बाहाम्फेले चासोक तङ्नाम नेपालकै पहिलो चाड भएको बताइन । उनले पाकेको पहिलो अन्नबाली चढाइने न्वागी पर्व भएकोले यो चाड पहिलो चाड भएको दाबी गरिन् ।

Chasok-2 5

पहिचान र मौलिकता बोकेका यस्ता चाड पर्वहरूको संरक्षण र संवर्द्धन गर्नुपर्ने बताउँदै उनले यसरी सामूहिक भेला भएर यस्ता पर्वहरू मनाउनुका साथै आफ्नो मौलिक हक भित्रका अधिकार खोज्नका लागि पनि एक जुट हुनुपर्ने बताइन् ।

जसरी चाडपर्वहरू एक भएर मनाउँछौ त्यसरी नै अधिकारको सुनिश्चितताको लागि पनि एक भएर माग गर्दै अघि बढ्नुपर्ने बताउँदै राज्यमन्त्री तुम्बाहाम्फेले प्रदेश १ का १३७ वटा पालिकाहरूमा एसइई गरेका जेहेन्दार गरिब, दलित विद्यार्थीहरू छात्रवृत्ति दिने निर्णय प्रदेश सरकारले गरेको छ । अझै पनि समाजमा महिला हिंसा कायमै रहेकोले प्रदेश १ मा महिला हिंसालाई शून्यमा झराउन सरकार लागि परेको पनि उनले बताइन् ।

समापन समारोहमा चुम्लुङले आयोजना गरेका विभिन्न सङ्घ संस्था र व्यक्तिहरूलाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको समापन पछि राज्यमन्त्री तुम्बाहाम्फेले लिम्बु जातिको मौलिक सांस्कृतिक नाच धान नाच समेत नाचेकी थिइन् ।

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिका अध्यक्ष पदमा लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जय सम्वाहाम्फेले गरेका थिए ।

Chasok-1 5