धरान : ब्राइन हडसनले सन् १८२९ मा नेपालबाट विश्वका निम्ति नयाँ पत्ता लगाएको दुर्लभ चरा ‘हङरायो’ पूर्वी नेपालको इलाममा फेला परेको छ ।

चरा प्रेमी झापाका देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा मंगलबार एक जोडी भाले हङरायो फेला पारेको उनको फेसबुकमा उल्लेख गरेका छन् । उनले यी दुर्लभ चराको तस्बिरसमेत खिचेका छन् ।

नेपालीमा हङरायो नामले चिनिने यो पंक्षीको अङ्ग्रेजी नाम रुफस नेक्ड हर्नबिल हो । हङरायो धनेश समूहभित्रको पंक्षी हो ।

झापाबाट इलाम पुगेका खरेलले चराको तस्बिर खिचेपछि आफ्नो फेसबुकमा लेखेका छन्, ‘मेरो जीवनको दोस्रो ठुलो उपलब्धि, होमराई चरा दुई वटा भाले बाटोमा भेटिए । नेपालमा डेढ सय वर्षयता यो चरा देखिएको थिएन । पहिले यसको अस्तित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन । यसको फोटो अहिलेसम्म नेपालमा कोहीसँग पनि छैन । डेढ सय वर्षयताकै यो पहिलो रेकर्ड हो नेपालमा ।’

यो भन्दा पहिले खरेलले हरित परेवा भेटेर रेकर्ड राखेको बताउँदै उनले कपुरी न्युजसँग टेलिफोनमा भने-अहिले इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँमा हङरायो अर्थात् रुफस नेक्ड हर्नबिल फेला पारे अहिले पनि म इलाममै छु । यो मेरो जीवनको वाइल्ड लाइफ फोटोग्राफीको ठुलो उपलब्धि हो।’ यो चरा नेपालमा देवेन खरेलले १७१ वर्ष पछि फेला पारेको र फोटो खिच्न समेत सफल भएको जैविक विविधतासम्बन्धी अध्येता कमल मादेन बताउँछन् ।

यो पंक्षी ब्राइन हड्सनले सन् १८२९ मा नेपालबाट विश्वको निम्ति नयाँ पत्ता लगाएका थिए । त्यसपछि यसको एक अर्को सन् १८५० मा सङ्कलन गरिएको नमुना बेल्जीयममा संग्रहित छ । मैले, त्यो रुफस नेक्ड हर्नविल इलाममा पाइन सक्छ भनेको थिएँ, मेरो अनुमान सही निस्कियो मादेनले भने ।’

उनका अनुसार यो चरा नेपालबाट लोप भएका पंक्षीहरुमा गणना गरिन्छ । उनी भन्छन् -यो चराको जति वर्णन गरे पनि कमै हुन्छ । साइज र सुन्दरताको दृष्टिकोणले त्यो नेपालको वनजंगलमा बस्ने सबैभन्दा ठुलो र सुन्दर पंक्षी मानिन्थ्यो । यसको चुच्चोको टुप्पोदेखि पुच्छरको टुप्पोसम्मको लम्बाइ ४ फिटसम्म हुन्छ ।

अर्का चरा विज्ञ सञ्जीव आचार्य पनि देवेन खरेलले फेला पारेको चरा नेपालको लागि १७१ वर्ष पछिको पहिलो रेकर्ड भएको बताउँछन् । उनी भन्छन् 'यो चरालाई बोलीचालीको भाषामा होमराई हुँदै होङरायो भन्ने गरिन्छ तर यसको अङ्ग्रेजी नाम रुफस नेक्ड हर्नबिल हो।' खरेलको यो रेकर्ड नेपालमा चरा सम्बन्धी खोज अनुसन्धान गर्नेहरूको लागि ठुलो उपलब्धि भएको आचार्यको भनाई छ ।

Hongrayo-1