धरान : सङ्खुवासभाको पाचखपन नगरपालिका–३ का दिपन राई आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन् ।

यही पुष ५ गते राती १२ बजेको समयमा राईको २९ बर्षीया श्रीमती विष्णु माया राई मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटी गएको थियो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृतकको शरीरमा केही चोट पटक देखे सँगै घटना बारेमा सूक्ष्म अनुसन्धान थालेको थियो ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान सँगै मृतकलाई पोस्टमार्टमको लागी धरान पठाएको थियो भने अन्य अनुसन्धान जारी नै रहेकोमा विष्णु मायाको आत्महत्या तथा भवितव्यबाट मृत्यु नभई कर्तव्यबाट हत्या भएको खुल्न आएको थियो ।

मृतककै श्रीमान् दिपन राईलाई पक्राउ गरिएको र निजले नै आफैले हत्या गरेको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । राईले श्रीमतीसँग सामान्य विषयमा वादविवाद हुँदा आफ्नो रिसको आवेगलाई थाम्न नसक्दा श्रीमतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।