विराटनगर : प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी सुरु गरिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी सुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

विराटनगरमा सम्पन्न प्रदेश स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्य योजना तयारी गोष्ठीमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्य योजना बनाउने निर्णय भएको निर्देशन बस्नेतले बताए ।

उनका अनुसार पाँचथरमा पाइलट परियोजना सुरु गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले बताए । कुपोषणमुक्त प्रदेशका लागि आवश्यक जनशक्ति अभाव भएको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई प्राथमिकता दिइने बताए । उनले स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा मन्त्री यादवले जोड दिए ।

समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरू, स्थानीयतहका प्रतिनिधि, सु आहारा, डब्ल्युएफपी, एमएसएनपी, पोषणपुर्नस्थापना गृहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गत कात्तिकमा सम्पन्न प्रदेश स्तरीय समीक्षा गोष्ठीमा कुपोषणमुक्त प्रदेश बनाउने सङ्कल्प प्रस्ताव पारित गरिएको थियो ।