धरान : धरान-१३ को कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः पर्शुराम कटुवाल निर्वाचित भएका छन् ।

कृषि उपज बजार स्थलको सभा हलमा शनिवार सम्पन्न निर्वाचनमा कटुवाल दोस्रो कार्यकालका लागि फेरि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसै गरी सदस्यहरूमा भक्ति कुमार राई (विनोद), रमेशकुमार शाह कृर्षक समूहबाट झुमा देवी राई, राजेश मेहेता, पदम लिम्बु निर्वाचित भएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य भएका छन् ।

सुनसरी जिल्ला भरीका ३७ जना विभिन्न कृषक समूहबाट प्रतिनिधित्व गर्ने मध्येबाट ३ जना कृर्षक निर्वाचित भएका हुन् । कृर्षक समूहबाट सदस्यमा निर्वाचित हुनेहरू बिच मतदान भएको थियो ।

कृषि बजार व्यवस्थापन समितिको निर्वाचनका लागि कृषि विभागबाट निर्वाचन अधिकृत छेदी प्रसाद यादव र मतदान अधिकृत निलु गिरी आएका थिए ।

निर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ भने समितिले कृषि बजारलाई चुस्त दुरुस्त सञ्चालन गर्ने, कृषक मैत्री बजार बनाउने र बजारको सेवा व्यवस्थापन गर्नेछ ।