धरान : उदयपुर र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरमा टिपर सँग ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका-१ का २५ वर्षीय गङ्गाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजे चौदण्डीगढी-५ भित्री सडक खण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्बरको टिपरलाई स.१० प ८७९८ नम्बरको मोटर साइकलले ओभरटेक गर्ने क्रममा टिपर सँग मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको हो ।

सोही मोटरसाइकल पछाडि सवार मृतकको श्रीमती २४ बर्षिया सङ्गीता चौधरी समेत घाइते भएकी छिन् । उनको फत्तेपुर अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका-८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी सुनसरीको बर्जू गाउँपालिका-२ मा भएको मोटरसाइकल र साइकल ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जू गाउँपालिका-६ का २२ वर्षीय रञ्जित चौधरी रहेका छन् ।

हिजो दिउँसो पौने ३ बजे को २१ प ९४४६ नम्बरको मोटरसाइकलले साइकल यात्री बर्जू-१ का ४५ वर्षीय चमरु ऋषिदेवलाई ठक्कर दिँदा दुवै जना घाइते भई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।