झापा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा न ६ मा निर्मित गोल्डेन गेट प्रवेशद्वारको उद्घाटन गरेका छन् ।

आज दमकमा आयोजित एक कार्यक्रमका बिच ओलीले सो गेटको उद्घाटन गरेका हुन् । वडा कार्यालयको १५ लाख र स्थानीय जनसहभागिता गरी कुल २१ लाख रुपैयाँको लागतमा उक्त गेट निर्माण गरिएको हो । आयोजित कार्यक्रममा ओलीले कुनै सम्बोधन भने गरेनन् । यद्यपि उनले त्यहाँ भेला भएका सर्वसाधारणहरूसँग केही समय भलाकुसारी गरेका थिए ।

प्रवेशद्वार निर्माण गर्न स्थानीय नन्दीकेशर अधिकारीको संयोजकत्वमा ९ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । उक्त समितिले छ महिना लगाएर पूर्वकै आकर्षक प्रवेशद्वार निर्माण गरिएको संयोजक अधिकारीले बताए ।

यसै गरी ओलीले आजै सरकारी दमक अस्पतालको निरीक्षण गरेका छन् । त्यस अस्पतालमा सङ्घीय सरकारको लगानीमा अस्पताल स्तरोन्नतिका लागि निर्माणाधीन भवनको काम र अस्पतालको सेवाको बारेमा जानकारी लिएको अस्पतालकी अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छन् । एमाले अध्यक्ष ओली अहिले दमकमै अन्य कार्यक्रममा व्यस्त छन् ।