धरान : धरानको कृषि उपज बजार स्थललाई थप व्यवस्थित र कृषक मैत्री बजार बनाउनुपर्ने बताइएको छ ।

हिजो निर्वाचित भएका कृषि बजार व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण समारोहमा सो कुरा बताइएको हो । कृषि बजार स्थापनाकालमा भोगिएको समस्या र अहिले अवस्थाको बारेमा कार्यक्रममा कुरा उठाइएको थियो ।

धरानको कृषि बजार नेपालकै उत्कृष्ट बजार आठौँ पटक पनि उत्कृष्ट घोषणा भएकोले यो बजारलाई कृषक मैत्री बनाउनुपर्ने धरानका उपमेयर मञ्जु भण्डारी सुबेदीले बताइन् । उनले बजारलाई थप व्यवस्थित बनाउन नव निर्वाचित कार्यसमितिलाई सुझाइन् ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानको कृषि उपज बजार स्थलमा बिचौलियाको अन्त्य हुनुपर्ने र किसानले आफूले उत्पादन गरेको कृषिजन्य बस्तु सहज तरिकाले बिक्री वितरण सक्ने वातावरण तयार गर्न नव निर्वाचित समितिलाई आग्रह गरे ।

सुनसरीको दक्षिणी बेल्टका किसानले उत्पादन गरेको कृषिजन्य बस्तु सहजै धरानको कृषि बजारमा आइपुग्नुपर्ने बताउँदै मेयर राईले यहाँ रहेका संरचना र कोल्ड स्टोरलाई थप व्यवस्थित बनाउनुपर्छ ।

कार्यक्रममा कृषि उपज बजार स्थलका संस्थापक अध्यक्ष तथा धरानका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले आफ्नो कार्यकालमा धरान नगरपालिकाको नाममा ६४ बिघा जग्गा दर्ता गरेको बताउँदै कृषि बजार आसपासको सुकुम्वासीहरूलाई स्थानान्तरण गरी थप बजारलाई व्यवस्थित बताउनुपर्ने बताए ।

उनले पनि कृषि बजार कृषक मैत्री र बिचौलिया मुक्त हुनुपर्ने धारणा राखे । कृषि उपज बजार सम्म कृषकले कृषिजन्य थोक बस्तु र पशु खरिद बिक्रीका लागि सहजै ढुवानीको व्यवस्था बजारले गर्न सके अझ राम्रो हुने नव निर्वाचित कार्य समितिलाई सुझाव दिए ।

नव निर्वाचित पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण पछि आजै बसेको पहिलो सञ्चालक समितिको बैठकले कृषि उपज बजार स्थलमा कृर्षक आवास गृह निर्माणका लागि कृषि मन्त्रालयमा गएर सम्झौता गर्ने लगायतको निर्णय गरिएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

Krisi-bazar-sapath-1