झापा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत आउने दावी गरेका छन् ।

देशैभरि एमालेको पक्षमा जनलहर आएको दाबी गर्दे एमालेको बहुमतलाई कसैले रोकेर, छेकेर रोक्न नसक्ने उनको भनाई थियो ।

दमक-३ स्थित निर्माणाधीन दमक भ्यूटावरको अवलोकन पछि आज त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दे उनले एमालेले गरेको कामलाई देखेर जनताले फेरि पनि तीनै तहको निर्वाचनमा एमालेलाई बहुमत दिएर जिताउने दाबी गरे ।

एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको उल्लेख गर्दे उनले अव जनताले नै फेरि अत्यधिक मत दिएर एमालेलाई सिंहदरबारमा पुर्याउने बताए । उनले भने,‒‘जनताले एमालेलाई खोजेका छन्, आगामी निर्वाचनबाट त्यो प्रमाणित हुनेमा दुई मत छैन’ ।

देशमा विकासको लहर चलाएको प्रति रिस गरेर एमाले नेतृत्वको सरकार ढालेको ओलीको आरोप थियो । उनले आउँदो चुनावमा प्रचण्ड ,माधव नेपाललाई जनताले लेखाजोखा सहित जवाफ दिने धारणा राखे । उहाँहरूको चुरीफुरी चुनावसम्म मात्र भएको र चुनाव पछि बत्ती बालेर खोज्नु पर्ने उनको टिप्पणी थियो ।

शनिवार गृह जिल्ला झापा आएका ओली सोमबारसम्म दमकमा बस्ने कार्यक्रम छ । झापा क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य समेत रहेका ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरूको अवलोकन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।.