विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट ज्येष्ठ नागरिकले माया पाएको उनले बताए । मन्त्री यादवले भने,‘ छोरा–छोरीले सम्मान गर्ने गरेको पाईएको छ ।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् ।

उनले सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा जोड दिए । मन्त्री यादवले अन्यको तुलनामा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूले पाइरहेको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न आवश्यक रहेको बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक विकास मन्त्री यादवले नेपाली नागरिकको पहिचानका नाममा धेरै प्रमाण–पत्रले झन्झटिलो बनाएको बताए । उनले भने,‘ हामी कति प्रमाण दिने ?’ नागरिकताको सवालमा धेरै समस्या देखिएको उनले बताए ।

मन्त्री यादवले भने,‘ भूमीपुत्रहरुलाई खोजेर नागरिकता दिनुपर्छ ।’ भूमीपुत्रहरु नागरिकता नपाएर पलायन हुनुपर्ने अवस्था आउन दिनु नहुनेमा उनको जोड छ ।