धरान : सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा पानीको पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

थुलुङ दुधकोसी गाउँपालिका ३ मा निर्माणाधीन सुरुङ मार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पानीको पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले कपुरी न्युजलाई जानकारी दिए ।

हिजो साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको बताइएको छ । घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्टेन्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शाहीले बताए ।

पाइप विस्फोटमा परि परियोजना व्यवस्थापक विराटनगरका मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थाका उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुङ्गाको मिसन अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी शाहीले बताए । मृतकको शवलाई अहिले हेलिकोप्टर मार्फत काठमाण्डौको टिचिङ हस्पिटल पठाउन तयारी भइरहेको बताइएको छ ।