धरान : कोरोना भाइरस सङ्क्रमणका कारण दुई वर्ष देखी हुन नसकेको ए डिभिजन जिल्ला लिग फुटबल सुनसरीमा पौष १५ गते देखी हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीको आयोजनामा हुन लागेको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमले प्रतिस्पर्धा गर्ने एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए ।

इटहरी रङ्गशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समूहमा विभाजित गरिएको छ । समूह क मा गोधुली क्लब धरान, एलेभेन एरोज क्लब दुहबी, न्यू स्टार क्लब वराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन् ।

यस्तै समूह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन् भने इटहरीका राष्ट्रिय जागृति क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।

१७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल विजेताले ५१ हजार नगद पुरस्कार पाउँदा उपविजेता टिमले ३० हजार रुपैयाँ पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जानकारी दिए ।

ए डिभिजन लिग सकिए लगत्तै जिल्लास्तरिय बी डिभिजन लिग सुरु गरिने एन्फा सुनसरी कोषाध्यक्ष कोबिदजंग कार्कीले जानकारी दिए । प्रतियोगितालाई नेपाल आइसले प्रायोजन गरेको छ ।