धरान : प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने नवौँ भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ ।

होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेष्टिवल गर्ने भएको हो । हरदम चिसो मौसम रहने धनकुटा देखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १७ किलोमिटर उत्तरमा रहेको भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ ।

भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरूमा सबै भन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकोले उनीहरूलाई पूर्वी नेपाल र विशेष गरी भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले बताए ।

Bhedetar

तर, यो वर्ष कोभिड १९ को नयाँ भेरियन्टका भारतीय पर्यटक कम आउने आशङ्का पनि रहेको अध्यक्ष रुम्दालीले बताए ।

२०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएसन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए ।

तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जातीय परिकारका स्टलहरू, अर्ग्यानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरू राखिने आयोजक होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । फेष्टिबलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा र्याप्टीङ्ग, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ ।

त्यस्तै डाँडाबजारमा रहेको ठुलो अजंगको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जनाएको छ ।

तिन दिनसम्म हुने फेष्टिवलमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत बाँसबाट बनेका सामग्री, खुकुरी, ढाका कपडा, जातीय परिकार गरी १५ विविध प्रकारका स्टलहरू हुनेछन् । फेष्टिवलमा करिब ३० हजार पर्यटकहरू सहभागी हुने आयोजकको अनुमान छ ।

करिब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करिब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिबल पश्चात् वर्षभरिमा भेडेटारमा पर्यटकहरूको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । फेष्टिबलको प्रायोजक गोर्खा ब्रुअरी रहेको छ ।

यस्तै प्रवर्द्धक नेपाल पर्यटन बोर्ड र सहयोगी साँगुरीगढी गाउँपालिकाको कार्यालय र साँगुरीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय रहेका छन् । फेष्टिबलमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरू दैनिक प्रस्तुति रहने बताइएको छ ।

फेष्टिवलको अवधिमा ६ हजार ६ सय रुपैयाँ भेडेटारमा, भेडेटार पाथीभरा २७ हजार र धरान पाथीभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छुटमा गराइने सञ्चालक सन्दीप भण्डारीले जानकारी दिए ।

यस्तै भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छुट गरिने आयोजकले जनाएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २ सय, १ हजार ५ सय र २ हजारमा हुँदै आएको छ ।