विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गरेका छन् ।

कोभिड अस्पतालले दिइरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले अस्पतालका संयोजक बैजनाथ साह, चिकित्सक, कर्मचारी लगायतसँग छलफल पनि गरेको स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।

मन्त्री यादवले कोभिड अस्पतालले दिने सेवाका बारेमा सेवाग्राहीबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन पनि दिएका छन् । उनले भने,‘ प्रदेश सरकारबाट सञ्चालित कोभिड अस्पतालको सेवाका बारेमा गुनासो सुन्नु नपरोस् र गुणस्तरीय सेवा प्रदान होस् ।

’ मन्त्री यादवले कोभिड सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापकहरूको प्रशंसा गरेका थिए । उनले कोभिड अस्पताल नजिकै निर्माण भइरहेको भवनको पनि अवलोकन गरे । ७६ बेडको नयाँ भवन निर्माण सम्पन्न भए लगत्तै कोभिड अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

सामाजिक विकास मन्त्री यादवलाई अस्पतालका संयोजक साहले अक्सिजन प्लान्ट जडानका लागि भवन माग गरेका थिए । अहिले एउटा प्लान्टबाट मात्रै अक्सिजन उत्पादन भइरहेको छ । दुईबाट प्लान्टबाट उत्पादन सुरु भएपछि दैनिक ३ सय सिलिन्डरमा रिफिल गर्न सकिने साहले बताए ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइसियु बेड २१, एचडियू ४७, अक्सिजन सहितको जेनरेल बेड १५ र अक्सिजन विनाको बेड १३ वटा रहेको छ । अस्पतालमा अहिले १० जना सङ्क्रमितको उपचार भइरहेको संयोजक साहले बताए ।