धरान : धरान-१४ विजयपुरमा विजयपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरेर पर्यटन सूचना केन्द्र स्थापना भएको छ।

धरान उपमहानगरपालिका-१४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार गएको पुस १ गते देखि धरान उपमहानगरपालिकाबाट १ जना कर्मचारी र वडा कार्यालयबाट १ जना गरी दुई जना कर्मचारी विजयपुर चौकमा रहेको पर्यटन सूचना केन्द्रमा खटाइएको छ।

पर्यटन सूचना केन्द्रले विजयपुरमा आउने पर्यटकहरूको दैनिक तथ्याङ्क राख्ने र विजयपुरको बारेमा जानकारी दिने धरान सङ्ग्रह नामक प्रा.डा.भरत भट्टराईको पुस्तक विशेष समूह र स्थानबाट आउने टोलीलाई निःशुल्क प्रदान गरिने वडाध्यक्ष भट्टराईले बताए।

धेरै अघि देखि धरानमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने भनिएकोमा कोरोना महामारीको कारण पछि धकेलिएकोले बल्ल यस पटक विजयपुरमा पर्यटन सूचना केन्द्र स्थापना गर्न सकिएको अध्यक्ष भट्टराईले बताए। उनका अनुसार विजयपुरमा रहेका मठ मन्दिर र ऐतिहासिकस्थलको बारेमा जान्न र घुम्न आउनेहरूलाई यो सूचना केन्द्रले सहयोग गर्ने बताइएको छ ।