धरान : सिरहा प्रशासनले पूर्व-पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडक खण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले आज र भोलि दुई दिन सिरहा बन्दको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरी निषेधाज्ञाबारे जानकारी दिएका छन् । पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ। पूर्वमा बालन खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पी.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ।

उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडक खण्डमा यातायात सञ्चालन हुनेछ भने तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६-२) र -३) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

यो आदेश उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ। जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम लम्ब्याएपछि प्रशासन निषेधाज्ञाले जारी गरेको हो। जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न विभिन्न मागसहित १३ र १४ गते सिराहामा चक्काजाम गर्ने निर्णय गरेको थियो।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरूलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले गरेको भ्रष्टाचारको छानबिन गर्नुपर्ने, किसानलाई समयमा मल उपलब्ध गराउनुपर्नेलगायतका ७ बुँदे माग राखेर जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम गर्दै आएको छ।

आमहड्तालको उल्लङ्घन गरेको भन्दै पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरूले आइतबार १६ वटा सवारी साधन तोडफोड र एक ट्रकमा आगजनी गरेका थिए । आइतबार मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमत पार्टीका कार्यकर्ता र प्रहरीबिच झडपसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले मिर्चैयामा १३ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

Suchana 1