धरान : सुनसरीको कोशी गाउँपालिका-१ बाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-१ स्थित बि.एस. होटलबाट भारत विहार अररिया, बासमटियाका ३५ वर्षीय बिधानन्द राम र २४ वर्षीय हासिम अन्सारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको हो ।

होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा उनीहरूले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्यागेजिन ४ थान, 7.65 mm को गोली ३ राउन्ड बरामद गरिएको हो । उनीहरूबाट मोबाइल १ थान, BR50 K  0149 नम्बरको मोटरसाइकल र भारतीय २ हजार रुपैयाँ समेत बरामद भएको छ ।

पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।