विराटनगर : नेकपा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरूबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालय पाञ्चालीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले जानकारी दिए ।

पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरू आयोजकका रूपमा प्रतिनिधि रहने उनले बताए ।

जिल्ला सल्लाहकार परिषद् र जिल्ला ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १०/१० जना प्रतिनिधि चयन हुने प्रचार प्रसार उपसमितिका संयोजक खतिवडाले बताए ।

उनका अनुसार जनसङ्गठनहरूबाट जिल्ला स्तरमा ५/५ जना, मजदुरका सम्पूर्ण शाखा र ट्रेड युनियन महासङ्घबाट २१ जना, मोरङ–काठमाडौँ सम्पर्क मञ्चबाट ५ जना, पिछडा वर्ग महासङ्घ (ओबिसी) बाट ५ जना, दलित पार्टी सदस्यहरूको भेलाबाट २५ जना बराबर १ प्रतिनिधि छनोट हुने छन् ।

जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने आर्थिक श्रोतका लागि पार्टी सदस्यहरूलाई मुख्य आधार बनाइ मोरङमा रहेका करिब ३५ हजार पार्टी सदस्यहरू प्रत्येकबाट ५०-५० का दरले अधिवेशन सहयोग रकम सङ्कलन गरिने र प्रतिनिधिहरूबाट ५०० र आयोजकबाट १ हजार शुल्क लिइने खतिवडाले बताए ।

‘वैचारिक गतिशील र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध सङ्गठन, एमालेको नेतृत्वमा सम्वृद्ध मोरङ’ नाराका साथ पुस २३ र २४ गते विराटनगरमा हुने अधिवेशनमा लोकतन्त्रको उच्चतम प्रयोग गरिने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनले भने ‘ सकेसम्म सर्वसम्मत, नभए निर्वाचन प्रक्रियामा १६५ सदस्यीय जिल्ला कमिटी चयन गरिने छ ।’ अधिवेशनले पदाधिकारी सहित जिल्ला कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने अध्यक्ष पोखरेलले बताए ।