धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गुरुङ समुदायको महान् चाड तमू ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बुधवार एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले स्वदेश तथा विदेशमा रहेका गुरुङ समुदाय लगायत सबै नगरवासी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन ।

गुरुङ जातिमा नयाँ वर्षको आगमनको खुसीयाली स्वरूप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमू ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको मेयर राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रूपमा रहेका छन्,’ मेयर राईले भन्नुभएको छ, ‘यस्तो विविधता नेपालका लागि मात्र विश्व समुदायमा पनि महत्त्वपूर्ण मानिन्छ ।

तमू ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

तमू ल्होसार पर्वले नेपालको सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न समेत मेयर राईले आग्रह गरेका छन् । 

Subhakamana 1