झापा : परम्परागत रूपमा काठबाट बनेका ठेकी लोप हुने अवस्थामा पुगेको छ ।

परम्परागत रूपमा काठबाट निर्मित कलात्मक तवरले कुदिएका दही जमाउने काठका ठेकी मात्र होइन अन्न भर्ने पाथी र मानाका साथै दूध दुहुने ढुङ्ग्रो, घिउ जमाउने हर्पे जस्ता बस्तुहरू आजभोलि गाउँ देखी सहर बजारसम्म खासै देख्न पाइँदैन । अहिले ती बस्तुहरू क्रमशः गाउँ देखी शहरसम्म पनि लोप हुँदै गएका छन् ।

पहिला पहिला प्लास्टिक तथा सिल्भर र स्टीलका भाँडा खासै भेटिन्न थियो । जसका कारण काठबाट बनेका बस्तुहरू चलनचल्तीमा आउँथे । तर अहिले जताततै प्लास्टिकजन्य बस्तुको प्रयोग बढेका कारण पनि काठबाट बनेका बस्तुहरू लोप हुन थालेको व्यवसायी हर्क कार्कीले बताए ।

उनले भने, “पहिला प्लास्टिक, सिल्भर र स्टीलबाट बनेका भाँडाहरूको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठुलो रुख कटहर र दारका काठबाट ठेकीहरू निमार्ण हुने गर्दथ्यो । तर अहिले गाउँमा काठको अभाव एकातिर छ भने यो पेसामा लाग्ने व्यक्तिहरू समेत पलायन हुन थालेका छन् ।”

व्यक्तिको घर कान्लाका रुखहरू पनि मासिँदै गए । पहिला पहिला काठबाट वनेका ठेकीहरूको माग अत्यधिक हुने गर्दथ्यो । अहिले गाउँघरमा गाई भैँसी पाल्नेको संख्यापनि घट्दै जान थालेको छ । कसैले पाली हाले भने पनि दूध सिधै डेरीमा विक्री गर्न थालेका छन् । त्यस कारण परम्परागत रूपमा काठबाट बनेका ठेकी लोप हुने अवस्थामा पुगेको सर्बसाधारणहरु बताउँछन् ।

पहिला काठबाट बनेको ठेकीमा दूध जमाउँदा राम्रो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लास्टिक, सिल्भर र स्टीलबाट बनेका भाँडाहरूमा जमाको दही महि र घिउको त्यस्तो स्वाद नहुने महादेवी घिमिरे बताउँछिन् ।

काठबाट वनेका जस्तो ठेकी अन्य बजारमा खरिद गरेका आल्मुनियमका भाँडाहरू नहुने र त्यसमा जमाएको दूधबाट वनेका सामाग्रीहरू पनि मानव स्वास्थ्यको लागि गुणकारी नहुने चिकित्सकहरू बताउँछन् ।