धरान : पन्ध्र वर्ष अघि धरानका एक युवाको गुमनाम हत्या भएको घटनाको कास्की प्रहरीले पुनः फाइल खोलेको छ।

१५ वर्ष अघि हत्या गरेर वैदेशिक रोजगारीमा बहराइन पुगेका अशोक गुरुङलाई बहराइनमा प्रहरीले पक्राउ गर्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।

तर १५ वर्ष अघि हत्या गरिएका राई को हुन भने कास्की प्रहरीले आफन्त पत्ता लगाउन अझै सकेको छैन । रोजन राई धरानका हुन भन्ने सम्म प्रहरीले फेला पारे पनि आफन्त सम्म अझै प्रहरी पुग्न सकेको छैन।

रोजन राईको हत्या कसरी भएको थियो ?

पोखराको रुपातालभन्दा मुन्तिरको ठाउँ सातमुहानेमा छ ताल खोला । त्यही खोलामा तटबन्ध गर्न मजदुरहरूको एउटा टोली खटिएको थियो ।

अशोक गुरुङसँग एक दिन ती मजदुरहरूसँग झगडा पर्छ । अशोकले दाउराको चिर्पटले प्रहार गर्छन् । मजदुर रोजन राई घाइते हुन्छन् । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिन्छ । त्यहीँ उपचारका क्रममा राईको मृत्यु हुन्छ ।

रोजन राईको हत्या भएको १५ वर्ष पुगिसक्यो । २९ वैशाख २०६३ मा उनी मारिएका थिए । त्यति बेला २० वर्षका उनको पोखरामा न कोही आफन्त थियो, न चिनाजानी । हत्याको विरुद्धमा चासो खाँचो लिने कोही भएनन् । प्रहरीले संदिग्धहरुलाई समात्यो ।

कसैको संलग्नता पुष्टि गरेन । झगडामा संलग्न अशोक प्रहरीबाट मुक्ति पाएपछि अशोक वैदेशिक रोजगारीमा जान्छन् । हत्याकाण्ड त्यसै सेलायो । रोजनको हत्या भएको १५ वर्षपछि फेरि त्यो हत्याकाण्ड सतहमा आएको छ ।

अशोक गुरुङ त्यही हत्यामा संलग्न रहेको प्रहरीले अनुसन्धानबाट पत्तो लगाउँछ । तर उनी भने रोजगारीका लागि बहराइनमा रहेको पनि खुल्छ । कास्की प्रहरीको अनुसन्धानकै आधारमा नेपाल प्रहरीले गएको २७ मङ्सिरमा अशोकका विरुद्ध रेड नोटिस जारी गरेको थियो । बहराइन प्रहरीले त्यही नोटिस बमोजिम अशोकलाई पक्रेको छ । यसै साता उनलाई नेपाल ल्याइँदै छ ।

भएको के थियो भने रोजनलाई चिन्ने जान्ने पोखरामा कोही थिएनन् । उनलाई खोज्दै पनि कोही आएन । मात्रै सातमुहानेका स्थानीयसँग उनले आफ्नो घर सुनसरीको धरान भएको बताएको सूचना कास्की प्रहरीले फेला पार्‍यो । त्यो पनि १५ वर्षपछि ।

२१ असारमा कास्की प्रहरी प्रमुख भएर कमान्ड सम्हाल्न आएका एसपी रमेश थापा पुराना जघन्य अपराधको सूची हेर्दै थिए । त्यसैमा उनले राईको हत्यारा पत्ता नलागेको देखे । त्यसपछि गहिरो अनुसन्धानमा खटिए । अनुसन्धानबाट अशोकको संलग्नता देखियो ।

इन्टरपोलमा राखिएको रेड नोटिसका आधारमा उनी पक्राउ पनि परिसके । अब कास्की प्रहरी हत्या भएका रोजन राईका आफन्तको खोजीमा छ ।

‘घर सुनसरी धरान हो भनेको थाहा भयो,’ एसपी थापा भन्छन्, ‘तर चिने जानेका कोही भेटिएनन् ।’ कास्की प्रहरीले जिल्लाबाहेक अरू ठेगाना नखुले पनि सुनसरी प्रहरीलाई रोजनका आफन्तको खोजीका लागि अनुरोध पनि गरिसकेको छ। तर पत्ता लागेको छैन ।

रोजन मारिइसके । हत्यारा १५ वर्षपछि भए पनि पक्राउ परे । अब किन चाहियो रोजनका आफन्त ? एसपी थापा भन्छन्, ‘आफन्तलाई न्यायको अनुभूति होस् भन्ने हो ।’ उनले प्रहरी अनुसन्धान प्रतिवेदनकै आधारमा आरोपित अशोक गुरुङ विरुद्ध मुद्दा चल्ने भए पनि आफन्तको जाहेरीसमेत हुँदा अझै राम्रो हुने पनि बताए ।

एसपी थापाले यसअघि कास्कीको मादी गाउँपालिका मकै खोलाकी कोपिला परियारलाई बलात्कारपछि हत्या गरेको पुरानो अपराधका दोषीलाई समेत घटनाको लामो समयपछि पक्रेका थिए । खड्कबहादुर खवास उक्त अपराध गरे बापत जेल परिसकेका छन् । खवास कोपिला हत्या लगत्तै पक्राउ परे पनि प्रहरीको फितलो अनुसन्धानका कारण छुटेका थिए । अपराध अनुसन्धानमा दक्खल भएका एसपी थापा दुवै पुराना जघन्य अपराधका दोषी पत्ता लगाउन सफल भएका छन् । उनलाई १५ वर्षअघि मारिएका राईका आफन्त खोजी गरी न्यायको प्रत्याभूति दिलाउने मन छ ।