धरान : हिसान स्पोर्टस् मिट-२०७८ अन्तर्गत धरानमा बिहीबार देखि सुरु भएको बास्केटबल खेलको पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् ।

खेल धरान-१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो। उद्घाटन खेलमा हिमालयन स्कुलले लोटस स्कुललाई २१–१५ को स्कोरमा पराजित गरेको थियो। खेलको म्यान अफ द म्याच हिमालयनका योगेश राई घोषित भएका थिए ।

त्यस्तै दोस्रो खेलमा एम्स एकेडेमीले विष्णु मेमोरियल स्कुललाई ३१-१५ को फराकिलो अन्तरमा पराजित गरेको थियो। खेलको म्यान अफ द म्याच एम्स एकेडेमीका निशान तामाङ घोषित भएका थिए। त्यस्तैगरी प्रतिस्पर्धात्मक खेलमा धरान आदर्श एकेडेमीले डिपो स्कुललाई २७-२५ को स्कोरमा पराजित गर्‍यो ।

खेलको म्यान अफ द म्याच धरान आदर्शका मोहित गुरुङ घोषित भएका थिए । प्रतियोगिता अन्तर्गत बिहीबार भएको चौथो खेलमा समिट स्कुलले विश्व आदर्शलाई २१-१८ को स्कोरमा पराजित गरेको छ । खेलको म्यान अफ द म्याच समिट स्कुलका रिदम भुजेल घोषित भए ।

बिहीबार भएको अन्तिम खेलमा हिमालयन स्कुलले सियोन स्कुललाई २१-१५ को स्कोरमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच हिमालयनका गगन राई घोषित भए ।

विजयी भएका टिमहरू सबै सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रवार हुने पहिलो सेमिफाइनलमा हिमालयन स्कुल र धरान आदर्श स्कुल प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा एम्स एकेडेमी र समिट स्कुलले प्रतिस्पर्धा गर्ने हिसान स्पोर्टस् मिट बास्केटबल खेल व्यवस्थापक विकास चाम्लिङ राईले जानकारी दिए ।

शुक्रवार नै बास्केटबलको महिला तर्फको खेल समेत हुने भएको छ । डिपो स्कुल धरानको बास्केटबल कोर्टमा हुने पहिलो खेलमा हिमालयन स्कुल र विष्णु मेमोरियल स्कुलले खेल्नेछन् भने दोस्रो खेलमा धरान आदर्श स्कुल र डिपो स्कुलले प्रतिस्पर्धा गर्नेछन् । बिहान ७ बजेदेखि खेल सुरुहुने खेल व्यवस्थापक राईले जानकारी दिए । बास्केटबलको फाइनल खेल शनिवार हुनेछ ।

बास्केटबल खेलको उद्घाटन समारोहमा नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नारायणप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहको अध्यक्षता हिसान स्पोर्टस् मिट २०७८ का संयोजक सागर भट्टराईले गरेका थिए ।