इनरुवा : नेकपा एमालेका नेता पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य धर्मराज निरौला सहित सो पार्टीका विभिन्न तहका पाँच सय बढी नेता कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एसको विभिन्न कमिटीमा राखी जिम्मेवारी दिन थालेपछि बिहीबार एमाले छाडेका नेता निरौलाले नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो सदस्यको जिम्मेवारी पाएका छन् । संविधानसभा सदस्य भएका धर्मराज निरौला नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रहेका सुनसरी जिल्ला इन्चार्ज समेत रहेका थिए ।

पोलिटव्युरोको जिम्मेवारी पाएका नेता निरौलाले कम्युनिस्ट पार्टीको स्थापनादेखि निरङ्कुशता विरुद्ध लड्दै अनेक आरोह अवरोहबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दाको अवस्थामा प्राप्त उपलब्धिलाई केपी ओलीले निजी कम्पनीका रूपमा निजीकरण गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा लगेकाले आफूहरूले आन्दोलन जोगाउन विद्रोह गरी एमाले परित्याग गरेको बताए ।

नेता निरौलाले सुनसरी जिल्लामा एमाले भित्र रहेका सयौँ नेता कार्यकर्ताहरू विद्रोह गरेर आफूसँगै नेकपा एसमा समाहित भएकाले जिल्लामा पहिलो नम्बरको पार्टीका रूपमा स्थापित गराउन भूमिका निर्वाह गर्ने बताए ।

सुनसरीको रामधुनी नगरपालिका झुम्का घर भएका नेता निरौलासँगै एमालेका विभिन्न कमिटीमा जिम्मेवारी निर्वाह गरेका ५ सय जना भन्दा बढी सुनसरीका नेता कार्यकर्ताहरू विद्रोह गरी नेकपा एसमा प्रवेश गरेका छन् । नेकपा एस सुनसरीले आफ्नो नेकपा एक सुनसरी नाम गरेको फेसबुक पेज मार्फत नेता निरौला पार्टीको पोलिटव्युरो सदस्यमा जिम्मेवारी पाएको जानकारी बिहीबार सार्वजनिक गरेको थियो ।

नेकपा एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले एमालेबाट समाजवादीमा आएका जिल्लाका अन्य नेता कार्यकर्ताहरूको नाम पदसहितको जिम्मेवारी आउँदो पुस महिना भित्र सार्वजनिक गर्ने बताए ।

नेकपा एस स्रोतका अनुसार पुस २३ गते एमालेको जिल्ला अधिवेशन भएकाले अधिवेशन लगतै सयौँको सङ्ख्यामा  थप नेता कार्यकर्ताहरू सो पार्टीबाट सामूहिक रूपमा विद्रोह गरी आउने तयारीमा रहेकाले एक हप्तापछि विद्रोही नेता कार्यकर्ताहरूको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।