धरान : धरान विधिवत् नगरपालिका घोषणा भएको ६१ औँ वर्षको अवसरमा पुष २० देखी २२ सम्म धरान स्थापना दिवस ‘धरान डे’ को उद्घाटन प्रधानमन्त्री सेरबहादुर देउवाले गर्ने निश्चित भएको छ ।

बिहिवार आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले भने ‘धरानले २०५७ सालमा शतवार्षिकी मनायो, त्यस बेला लक्षित विकासको गन्तव्यमा धरान कहाँ सम्म आइपुगेको छ भन्ने कुरा समीक्षा गर्न उपमहानगरपालिकाले वर्सेनी ‘धरान डे’ मनाउँदै आएको छ ।’ यसपालि प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उत्सवको उद्घाटन गर्ने कार्यक्रम निश्चित भएको उनले बताए ।

तिन दिने उत्सवमा धरानको दीर्घकालीन विकासका सम्भावना र अवसर एवं धरानको पर्यटन विकासका सम्भावना तथा उपमहानगरपालिकाले चाल्नुपर्ने कदमका विषयमा छुट्टा छुट्टै कार्यशाला गोष्ठी आयोजना गरिने छ । गोष्ठीको छलफल तथा निष्कर्षलाई रोडम्यापको रूपमा दस्तावेजीकरण गरिने बताइएको छ ।

दुई दशक अघि धरान बजार विकास भएको १ सय वर्ष पुरा गरेको अवसरमा २०५७ सालमा धरान शतवार्षिकी महोत्सव मनाइएको थियो । उक्त अवसरमा धरानको २० वर्षे दीर्घकालीन विकासको लक्ष्य निर्धारण गर्न यस्तै गोष्ठीको आयोजना गरिएको थियो । धरानलाई सांस्कृतिक पर्यटकीय केन्द्र, शिक्षा, स्वास्थ्य, व्यापारिक केन्द्रको रूपमा समृद्ध सहर बनाउने नारा त्यस बेला तय गरिएको थियो ।

धरान काठ काटिने परम्परागत आराबाट धरानमा बस्ती, बजार, नगरपालिका बाट अहिले उपमहानगरपालिका बनेको छ । सहरी विकासका कतिपय आधारभूत विकासमा अहिले पनि धरान पछि परेको छ । समय समयमा विदेशी दातृसंस्थाले विकासका लक्ष्य, माग निर्धारण गरेता पनि त्यसमा प्रगतिको पारदर्शी समीक्षा गरिएको पाइन्न । यसपालि आयोजना गरिएको धरान उत्सवले त्यस्तो समीक्षा गर्नुपर्ने कुरामा मेयर राईले जोड दिए ।

उत्सवको अवसरलाई धरानको भौतिक विकासका आवश्यकताहरूमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई नै बोलाइएको बताइएको छ । प्रधानमन्त्री देउवालाई उत्सवको उद्घाटन अघि धरानको विकास निर्माणका बारेमा स्थलगत अवलोकन ब्रिफिङ गराइने कार्यक्रम पनि राखिएको छ । उनले धरान वडानं. ६ स्थित धरानको फोहोर मैला सङ्कलन गरी प्रशोधन गरी ग्याँस उत्पादन प्लान्टको उद्घाटन गर्नेछन् ।

सेउती खोला स्थित नीराजन बस्तीको वडा ४ र १५ लाई जोड्ने पक्की पुलको पनि प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् । धरान उपमहानगरपालिका बने पनि सर्दु र सेउतीले अलग राखेको गाभिएका नयाँ वडामा विकास पुर्‍याउन पहिलो आवश्यकता पुलहरूको निर्माण नै हो । यस अवसरमा प्रधानमन्त्रीलाई पुलको आवश्यकता बारे ध्यानाकर्षण गराइने बताइएको छ । सोही अवसरमा पब्लिक हाई स्कुलमा निर्मित प्राविधिक भवनको पनि उद्घाटन गरिने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवालाई धरान–८ स्थित निर्माणाधीन धरान स्मार्ट बसपार्क अवलोकन गराइने छ । धरानमा नयाँ बसपार्क अपरिहार्य भए पनि लामो विवादका कारण उक्त बसपार्क निर्माणको काम दशक देखी रोकिएको थियो । पछिल्लो समय तिनै तहका सरकारको साझेदारीमा निर्माण हुने भएता पनि आवश्यक लागत रकम अभावका कारण अघिल्लो डिजाइनमा संशोधन गरी लागत घटाएर उक्त बसपार्क बन्ने प्रक्रिया सुरु गरिएको छ । अवलोकनको क्रममा प्रधानमन्त्रीले स्मार्ट बचन दिए स्मार्ट बसपार्कले नयाँ गति पाउन सक्छ ।

कोरोना महामारीको कारण धरानमा मेला महोत्सव आयोजना नभएको निकै लामो समय पछि धरान उत्सवले पुराना रमाइलो दिनहरू पनि फर्काउने भएको छ । मुख्य उत्सव स्थल पब्लिक हाई स्कुलको मैदानमा कुल ७६ वटा स्टलहरू रहेको मेला लाग्नेछ । जनजातीय परिकार देखी कृषि, महिला सिप, शिक्षा, प्रविधि, संस्कृतिजन्य प्रदर्शनी, व्यापारिक कारोबार त्यहाँ सञ्चालन हुनेछन् । मुख्य मञ्चमा दैनिक सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । मेयर राईले भने ‘पछिल्लो समय देशमा कोरोनाको घट्नामा कमी आएको बेला स्वास्थ्य मापदण्ड पालनालाई प्राथमिकतामा राखेर उत्सव आयोजना गरिएको हो ।’

उनका अनुसार उपमहानगरपालिले मौलिक नेपाली प्रविधिबाट उत्पादन हुने स्थानिय ‘तिनपाने’ रक्सीलाई ब्राण्डिङ गर्ने कानुनी, प्राविधिक प्रक्रिया अघि बढाएको छ । मेलामा तिनपाने प्रविधिको प्रत्यक्ष प्रदर्शनका लागि स्टल सञ्चालन गर्ने सम्भावना पनि छ । उनले भने ‘हामी यस बारेमा छलफलमा छौँ ।’ सांस्कृतिक कार्यक्रमहरू बिच यसपालि पूर्वेली ‘लोक जुवारी’, पोखराबाट आउने टोलीबाट लोक दोहरी, जनजातीय साङ्गीतिक प्रस्तुतिहरू रहने बताइएको छ ।

उत्सव अवधिमा तमोर–सप्तकोसी र्याफ्टीङ यात्रामा २० प्रतिशत छुट गरिने सञ्चालन मदन ढकालले घोषणा गरे । यसै गरी पत्रकार सम्मेलनमा प्याराग्लाइडिङमा उड्नेहरूलाई ३० प्रतिशत छुट गरिएको घोषणा प्याराग्लाइडिङ सङ्घका भूपाल राईले गरेका गरे । उत्सव अवधिमा धरान–४ भेडेटार बाट हेलिकप्टरमा पाथीभरा देवीको मन्दिर सम्मको आउने जाने उडानमा पनि छुट गरिने मेयर राईले बताए ।